वर्तमान सरकारकोे रबैया विरुद्ध एकजुट होऔं
करिब एक दशकदेखि उदयपुर जिल्लामा कार्यरत युवा पत्रकार रामप्रसाद भट्टराई ‘सचिन’ सुनसरीको इटहरीस्थित आँपगाछीमा मृत फेला परेको खबरले अत्यन्तै चिन्तित तुल्याएको छ । चैत १० गते घरबाट व्यक्तिगत कामका लागि बाहिर निस्किएका भट्टराई बेपत्ता भएपछि परिवारले खोजी गर्दै जाँदा इटहरी प्रहरीले चैत १२ गते उनको शव बेवारिसे अवस्थामा फेला पारेका थिए । युवा पत्रकार सचिनको रहस्यमय ढङ्गबाट हत्या भएको छ । राष्ट्रको चौथो अंगको उपमा पाएको पत्रकारिता जगतमाथि श्रंखलावद्ध रुपमा आक्रमण तथा हत्याको श्रंखलाले प्रेस झन् असुरक्षित बन्न पुगेको छ ।भोको पेट लिएर अनुहारमा हाँसो राखेर देश र समाजका लागि अहोरात्र खट्ने पत्रकारहरुको सुरक्षासम्म दिन नसक्नु राज्यको नालायकीपन हो ।
यतिमात्र होइन, मेडिकल माफिया विरुद्ध १० दिनदेखि अनसनरत डा.गोविन्द केसीका मागबारे छलफल गर्न प्रधानमन्त्री सुशील कोइरालाले बोलाएको मन्त्रीपरिषद्को आकस्मिक बैठक ठोस निर्णय बिनै टुङ्गिएको खबरले झन चिन्तित तुल्याएको छ । एमालेका मन्त्रीहरु तथा कांग्रेसकै नरहरि आचार्य लगायतका मन्त्रीहरुले मेडिकल कलेजको पक्षमा वकालत गरेपछि डा.केसीका मागबारे ठोस निर्णय लिन सकेको छैन ।

यस्ता गैर जिम्मेवार एवम् जनविरोधी सरकारको नेतृत्व गर्ने शुशील कोइरालाले आफ्नो जोगाउनका लागि ठोस निर्णय लिएर अगाडि बढ्नु आवश्यक छ । नेपालकै ईतिहासमा अति भ्रष्ट सरकारको रुपमा परिचय पाएको यो सरकारकोे गलत रबैया विरुद्ध एकजुट हुनु आवश्यक छ ।
पत्रकार हत्याका अपराधीलाई अबिलम्व पक्राउ गरी कडा कार्वाही होस् । यसैगरी डा. केसीको माग तत्काल सम्वोधन होस् । जनताका लागि ज्यान उत्सर्ग गर्न पछाडि नहट्ने वहाँको जीवनरक्षा तथा भ्रष्टाचारी एवम् जनविरोधी सरकारलाई आ–आफ्नो स्थानबाट खबरदारी गरौं । जागौं जनता......

