सीप र मेहनत जिन्दावाद
ऋण काढेर डोम परिवारले बनाए चर्पी
श्यामसुन्दर यादव
राजविराज, १७ फागुन । सप्तरी जिल्लालाई सन् २०१६ भित्र खुला दिशामुक्त गर्ने अभियानमा चुनौती थपिरहँदा गोइठी–५ का एक डोम परिवार यतिबेला जिल्लाकै लागि उदाहरणीय बनेका छन् ।
‘कुनै पनि काम गर्नका लागि ईच्छा शक्ति भए पुग्छ’ भन्ने भनाईलाई डोम परिवारले चरितार्थ गरेर देखाएका छन् । दातृ निकायले शौचालय बनाउने नाममा त कतै जनचेतना फैलाउने नाममा करोडौं खर्चिरहेको अवस्थामा आफ्नै खर्चमा शौचालय निर्माण गरेर रामभजु मरिकको परिवार यसरी उदाहरण बनेका छन् ।
राज्य तथा समाजद्वारा उपेक्षाको शिकार बन्दैआएका डोम समुदायका रामभजु आफ्नो समुदाय मात्र नभई जिल्लाकै लागि नमूना परिवारको रुपमा चिनिएका छन् । पुस्तौंदेखि एक ईञ्च पनि जग्गा नभएका भजुको परिवार बाटो छेउको ऐलानी जग्गामा बाँसको कच्ची घर बनाएर बस्दै आएका छन् । रामभजुले बुहारी भित्र्याएपछि गत बैशाखमा ४० हजार खर्च गरेर चर्पी निर्माण गरेर ढुक्क भएका छन् ।
टोलमै एक घरमात्र रहेको र शौचालय बनाउने आफु नै पहिलो भएकोमा मरिक परिवारलाई गर्वको अनुभूति गरिरहेका छन् । ‘गाउँमा धनीमानीको व्यक्तिहरुको बसोबास छ, ठूला ठूला पक्की घर पनि छन् तर चर्पी छैनन्, उनकी पत्नी सुकुमारी मरिकले भनिन्, टोलमा अहिलेसम्म तीनवटा घरमा मात्रै शौचालय छ । आफ्नो आधा भन्दा बढी उमेर शौचका लागि खेत चउरमा धाउँदै बिते पनि छोराबुहारीलाई यस्तो भोग्न नपरोस् भन्ने सोचका साथ ऋण काढेर भए पनि शौचालय बनाएको बनाएको उनले बताईन् ।
बाँसको ढक्की, दौरा, कोनियाँ, छिटी, चँगेरा, पंखा, सुप्ली आदि सामग्री बनाउने पुख्र्यौली पेशाबाट जोहो गरेको आम्दानी र घटी भएको पैसा ऋण काढेर लिएको बताउँदै सुकुमारीले भनिन्, ऋण कर्जा भए पनि चिन्ता छैन, बाँसको सामग्री बेचेर बिस्तारै ऋण तिरीहाल्छु । चर्पी बनाउन बालुवा, सिमेन्ट र मिस्त्री खर्च गरी चालिस हजार खर्च भएको तथा घेरबेर भने बाँसकै भाटाबाटै गरेको उनले गर्वका साथ बताईन् ।
गाउँ–टोलका अधिकांश बालबालिकाले डगर–बाट छेउमै दिसापिसाब गर्ने गरेको भए पनि आफ्ना नातिनातिनालाई भने शौचालयकै प्रयोग गर्न सिकाएको सुकुमारीले बताईन् । बाँसको सामग्री बनाउनमा व्यस्त रहेकी सुकुमारी चोया तयार पार्दै भनिन्, हामीलाई कसैले भन्न आएन, आउनु पनि पर्दैन, अहिलेसम्म सरकारले हामीलाई केही दिएको छैन, बरु हाम्रो सीप र मेहनत जिन्दावाद ।
दलित बालबालिकालाई विद्यालय भर्नाकालागि गाउँमा शिक्षकहरुले उत्प्रेरित गर्नु परिरहेको अवस्थामा रामभजुले आफ्ना दुई नातिनातिनालाई विद्यालयमा आफै भर्ना गराएका छन्। विद्यालय पठाउनुको साटो सुँगुर चराउन पठाउँदा हाम्रो समुदायका प्रायः सबै निरक्षर बने। रामभजुकी बुहारी ममताले भनिन् ‘हाम्रा बच्चाले पनि त्यस्तो भोग्नु नपरोस भनी स्कूल पठाएका हौं ।’
जिल्लालाई सन् २०१६ भित्र खुला दिसामुक्त घोषणाकालागि घरघरमा पुगेर चर्पी बनाउन दवाव दिनु परेको अवस्थामा रामभजुको प्रयास सराहनीय रहेको स्थानीय समाजसेवी बद्री महात्मान बताउँछन्। आर्थिक विपन्नताको मार खेप्दैआएका रामभजुको परिवारले गरेको उदाहरणीय कार्यबाट समाजका अन्य व्यक्तिहरुले समेत शिक्षा लिनुपर्ने उनको भनाइ छ ।
(फागुन १८ गतेको न्यूज टुडे दैनिकमा प्रकाशित समाचार )